क्लबका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा ६ जना पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार १०:२४
सांकेतिक तस्बिर

काठमाडौं । दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रविसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा (च्याङ्बा), जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना रहेका छन् ।

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो । बिहान ड्यूटी सकेर घर फर्किँदै गरेका क्लबका बाउन्सर नितेश राई र छिरिङ लामालाई मोटरसाइकलमा आएको अज्ञात समूहले आक्रमण गरेको थियो । आक्रमणबाट नितेशको खुट्टा र छिरिङको टाउकोमा चोट लागेको छ । दुवैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रेका अमित लामालगायतका लगानी रहेको प्लाटिनम क्लबमा केही अघि दुई बाउन्सरले एक समूहमाथि कुटपिट गरेको थियो । त्यही समूहले खुकुरी प्रहार गरेर बदला लिएको हुनसक्ने अनुसन्धानमा संलग्न एक अधिकृतले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।