हत्या आरोपमा एक महिलासहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन २५, मंगलवार ०८:५५

झापा । झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फिदिम–१२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ–७ घर भई सोही होटल बस्ने आचार्यकी श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस–४ सुरुमखिम घर भई हाल अर्जुनधारा–११ स्थित नयाँ बसपार्क एरियामा बस्दै आएका गुरुङको लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

घटनामा संलग्न थप जना फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, विजयादशमीको फूलपातीका दिन उनीहरुले होटलमा तास खेलेको र पैसा हारजीतको विषयलाई लिएर विवाद भएको थियो ।

सोही विवादको क्रममा गुरुङलाई टाउको पछाडीको भाग र नाकमा अचार पिस्न प्रयोग गरिने ढुङ्गाको लोहोराले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो । गुरुङको शव असोज १८ गते बिहान बसपार्कको ड्राइभिङ सेन्टर पूर्व प्लटिङमा फेला परेको थियो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।