आज उम्मेदवारहरुको नामावली सार्वजनिक हुने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज सार्वजनिक हुने भएको छ । आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
सोमबार उम्मेदवारविरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार, उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।
आयोगले आज सार्वजनिक गर्ने नामावलीहरुमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सकिने जनाएको छ । त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
