श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
जनकपुरधाम । धनुषामा सिलौटा प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशा देवी सदाको मसाला पिध्ने सिलौटाले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मृतका श्रीमान रेविया सदा रहेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार अपराह्न ४ बजे श्रीमान रेवियाले मादक पदार्थ सेवनको नशामा सिलौटा प्रहार गरी श्रीमती आशाको हत्या गरेका थिए ।
उनलाई घटनाको केही समय पश्चात् पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
