बेलायत पठाइदिन्छु भन्दै रु १३ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । प्रहरीले बेलायत पठाइदिन्छु भनी रु १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्की रहेका छन् ।
उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्ने कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’ मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ लाख ४६ हजार लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा आज काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।
पक्राउ उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।
