आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ
ललितपुर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामा रहेका छन् ।
उनलाई आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो ।
लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
