हेटौंडाको हटियामा निःशुल्क स्वास्थ्य शिविर हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपालको संयुक्त आयोजनामा भदौ २५ अर्थात भोलि शनिबार स्वास्थ्य शिविर हुने भएको हो ।
प्रस्तावित श्री कृपालु अस्पताल हटिया–१७ वडा कार्यालय नजिकै जुरेथुममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा हाडजोर्नी तथा नशा रोग, मृगौला रोग र सामान्य चिकित्सा सेवाहरु प्रदान गरिने छ । निःशुल्क जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरिने क्लबले जनाएको छ ।
शनिवार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म स्वास्थ्य शिविर संचालन हुने निरोज निरौंलाले जानकारी दिए । स्वास्थ्य शिविरमा सहभागि भएर लाभ लिन स्थानीयवासीलाई उनले आग्रह समेत गरेका छन् । प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क स्वास्थ्य शिविर गरिर्दै आएको छ ।
