मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र २३, बिहीबार १५:२२
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले आज बिहीबार बिहान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १८ चनौलि बस्ने ४३ वर्षीय टेकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

गुरुङलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी भैसेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका वडा नम्वर १ बागझोराबाट लागूऔषध गाँजा १५ पोका (तौल गर्न बाँकी) सहित पक्राउ गरिएको हो ।

बिहान चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा २० च ६८ नम्वरको कारलाई भीमफेदी–२ भैसेस्थित रोक्न खोज्ने क्रममा नरोकी फरार भएकोले फलो गर्दै जाने क्रममा बागझोरामा पुगेर नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि गाडी चालक गुरुङलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका गुरुङमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।