मकवानपुरमा चट्याङ् लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २२, बुधबार ०८:५०
file-photo

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर २ बरेटार बस्ने ६२ वर्षीया कालिमाया स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, स्याङतानको मंगलबार साँझ ७ : १५ बजेको समयमा आफ्नो घर नजिकै बारीमा गएको अवस्थामा अविरल वर्षासँगै अचानक परेको चट्याङ लागेर मृत्यु भएको हो ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीको टोली रहेको र मुचुल्का उठाउने काम भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । मृतकको शव पाष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याउने उनले बताए ।