राष्ट्रियसभा बैठक : डेंगु रोकथाममा ध्यान दिन सांसदको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथाममा ध्यान दिन सरकारसँग माग गरेका छन् ।
बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेंगु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरे ।
यस्तै, बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै तुलसीपुर – कपुरकोट सडकखण्ड कन्तबिजोग बनेको बताए । सांसद उर्मिला अर्यालले रासायनिक मल अझै राम्ररी आपूर्ति हुन नसक्दा र सिँचाइको अभावका कारण मधेसका किसान चिन्तित भएका बताए ।
सांसद तुलप्रसाद विश्वकर्माले भेटेरेनरी चिकित्सक बाहेकका अन्य भेटेरेनरी सेवामा लागेका जनशक्तिलाई समेट्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई छिटो पारित गर्न आग्रह गरे ।
सांसद नारायणदत्त मिश्रले मलखादको अभाव हुन नदिन सरकारसँग आग्रह गरे । सांसद भुवनबहादुर सुनारले गाउँ–गाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ अघि बढेको सहकारी पछिल्लो समयमा बदनाम हुँदै गएकामा चिन्ता प्रकट गरे ।
