मकवानपुरमा घरेलु हिंसाका घटना बढ्दो, गत आवमा ४३९ वटा उजुरी दर्ता

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार १०:२९

मकवानपुर । मकवानपुरमा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, जिल्लामा पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको हो ।

जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा घरेलु हिंसाको उजुरी झण्डै दोब्बर परेको सो कार्यालयले जनाएको हो । अघिल्लो आर्थिक वर्षमा २ सय ८६ वटा उजुरी परेकामा गत आवमा ४ सय ३९ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको हो । अघिल्लो आवमा परेका उजुरीमध्ये १ सय ८६ वटा उजुरीको मिलापत्र गराइएकोे थियो भने ५० वटा मुद्दा अदालतमा गएको थियो ।

त्यस्तै, गत आर्थिक वर्षमा घरेलु हिंसाका ४ सय ३९ वटा उजुरी परेकामा २ सय ६० वटा उजुरीको मिलापत्र गराइएको ६१ वटा उजुरी अदालतमा मुद्दाका रूपमा गएको र एक सय १८ वटा उजुरीको छिनोफानो भइरेको जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा ३८ वटा, भदौंमा ४४ वटा, असोजमा ३३ वटा, कात्तिकमा ३७ वटा, मङ्सिरमा ३४ वटा, पुसमा ३६ वटा, माघमा २४ वटा, फागुनमा ३१ वटा, चैत्रमा ३९ वटा, बैशाखमा ३६ वटा, जेठमा ४५ वटा र असारमा ४२ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको र तीमध्ये अधिकांश अधिकारका लागि परेको सो कार्यालयले जनाएको छ ।