नेकपा एकीकृत समाजवादीले भोलि पार्टी पुनर्गठन दिवस मनाउने

तु खबर संवाददाता
२०७९ भाद्र ८, बुधबार १८:३४

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो ।

बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीवार (भोलि) दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए ।

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।

उनले आफूहरुको पार्टी पुनर्गठन पश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए ।