चोरीको मोटरसाइकलसहित हेटौंडाका दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र ७, मंगलवार १६:०४

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीको मोटरसाइकलसहित हेटौंडाका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने २० वर्षीय मनोज पुलामी मगर र हेटौंडा उपमहानगपालिका वडा नम्वर १२ शान्तीनगर बस्ने २२ वर्षीय सुरज ठकुरी रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले चोरीको ना ३९ प २२९९ र बा ३३ प ६११४ नम्वरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) टेकबहादुर कार्कीले जानकारी दिए ।

गत शुक्रबार अर्थात भदौं ३ गते हेटौंडा–५ स्थित शान्तिनगरबाट ना ३९ प २२९९ नम्वरको मोटरसाइकल चोरी भएको उजुरी प्रहरीमा आएको थियो । सोही उजुरीको आधारमा प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आइतबार हेटौंडा–१५ बस्ने मनोजको घरभित्रबाट उक्त चोरी भएको ना ३९ प २२९९ र बा ३३ प ६११४ नम्वरको मोटरसाइकल बरामद भएको थियो ।

उक्त घटनाको बारेमा सोधपुछ गर्दा मनोजले बरामद उक्त मोटरसाइकल आफु र आफ्नो साथी सुरजले मिलेर चोरी गरेको बताएपछि सुरजलाई हेटौंडा–१० स्थित बसपार्कबाट फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।