झिनो अंकले घट्यो नेप्से, २ अर्ब माथिको कारोबार

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १७:०५

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से ७.७४ अंकले घटेको हो । प्रि ओपनिङ्ग सेसनमा बढेपनि शेयरबजार बन्द हुनेबेलासम्म झिनो अंकले घटेर बन्द भएको हो ।

उतारचढावकाबीच घटेको नेप्सेमा आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोडमाथिको कारोबार हु्न पुगेको हो । गत साताको अन्तिमतिर शेयर बजारमा रौनकता छाएपनि साताको पहिलो दिन नै मार्केट घट्न पुग्दा लगानीकर्ताहरुको उत्साह घट्न पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैकिङ्ग, होटल तथा पर्यटन, निर्जिवन बीमा र उत्पादन तथा प्रशोधन समूह बढ्न पुगेको छ भने सर्वाधिक व्यापार समूहको १।९३ प्रतिशतले घट्न पुगेको छ । साथै आज शेयर बजारमा मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोलाको शेयरमा सर्किट लागेको छ भने सर्वाधिक रिभर फल्स पावरको ५.१९ प्रतिशतले शेयर मूल्य घट्न पुगेको छ ।