हत्याको आरोपमा तीन जना पक्राउ
काठमाडौं । काठमाडौं प्रहरीले एक युवकको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् ।
उनीहरुलाई बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरी उनीहरुलाई भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्या गरेको आरोपमा गएराति पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार, अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकापसमा झगडा गर्दा राईको हत्या हुन पुगेको हो । शनिबार राति ९ः३० बजे भएको सो घटनामा प्रहरीले सङ्लग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि बौद्ध प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
