झिनो अंकले घट्यो नेप्से, डेढ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ भाद्र १, बुधबार १७:२०

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज शुन्य दशमलव ३६ अंकले घटेर २०४० को विन्दुमा कायम हुन पुगेको छ । यसअघि मंगलबार शेयरबजारमा २४ अंकको गिरावट आएको थियो ।

आज शेयरबजारमा झिनो अंकको गिरावट आएपनि कारोबार भने अघिल्लो दिनको तुलनामा ह्वात्तै घट्न पुगेको छ । आज जम्मा एक अर्ब ४० करोडमाथिको मात्रै कारोबार भएकाृ छ । अघिल्लो दिन २ अर्बमाथिको कारोबार भएको थियो ।

आज नयाँ हाइड्रोपावर कम्पनीहरु बाहेकका अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज चारवटा नयाँ हाइड्रोपावर र एक लघुवित्त कम्पनीको शेयरमा सर्किट लागेको छ भने अन्य सूचीकृत पुराना हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य सर्वाधिक घट्न पुगेको छ ।

बुधबार नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुँदा करिब डेढ अर्बको कारोबार हुन पुगेको हो । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जिवन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य छन् । आज सर्वाधिक जीवन बीमा सूचकको शुन्य दशमलव ४८ प्रतिशतले घट्न पुगेको छ ।