कोमल वलीले दाङ ३ बाट चुनाव लड्ने
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् । तत्कालीन बाम गठबन्धनबाट नेकपा एमालेका नेता हिराचन्द्र केसी नेकपा एकीकृत समाजवादीतिर गएपछि वलीले एमालेबाट चुनाव लड्ने तयारी गरेकी हुन् ।
‘मैले २०७४ सालको चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिए । पार्टीले मलाई टिकट दिएपछि हिरा कमरेड लड्नुभयो’ वलीले भनिन्, ‘यो चुनावमा एमालेबाट मैले चुनाव लड्ने तयारी गरेको छु । त्यसैअनुसार जनताको सेवामा खटिएकी छु ।’ ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने भएपछि वलीले पछिल्लो समय दाङमै बसेर राजनीतिक गतिविधि अघि बढाउँदै लगेकी छिन् ।
एमालेबाट वलीसहित तुलसीपुर उपमहानगरका निवर्तमान मेयर घनश्याम पाण्डेले पनि दाबी गरेका छन् । पाण्डे मेयर हुँदा घोराही तुलसीपुर सडक खण्डको ठेक्का आफ्नो छोरालाई दिएका थिए । सो सडक समयमै सम्पन्न नहुँदा उनी बदनाम छन् । त्यसैले वलीले एमालेबाट टिकट पाउने सम्भावना बढी रहेको छ ।
