आइतबार शेयर बजारमा २७ अंकको गिरावट
काठमाडौं । मौद्रिक नीतिपछि केही सुधार देखिएको शेयर बजार फेरी ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सूचक १.३७ प्रतिशतले घट्दा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता खरिदबिक्री हुँदा सो रकम बराबरको कारोबार भएको हो । नेप्से घटेसँगै आज सबै सूचक राताम्य छन् । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको आज ३.५८ प्रतिशत अर्थात, १९० रुपैयाँ ७३ पैसाले घट्न पुगेको छ ।



