नाइजेरिया सैनिक कारबाहीमा २९ जनाको मृत्यु
काठमाडौं । नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा कम्तीमा २९ जनाको मृत्यु भएको छ । अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले जानकारी दिएको छ ।
उनका अनुसार, आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको छ । उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए । आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् । देशका विभिन्न भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको छ ।
