बागमती प्रदेशमा सकियो ९३ प्रतिशत रोपाईं, कुन जिल्लामा कति ?

तु खबर संवाददाता
२०७९ श्रावण २३, सोमबार १८:४८

मकवानपुर । बागमती प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाईं सकिएको छ । प्रदेशको १३ जिल्लामा १ लाख २० हजार ५६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ । त्यसमध्ये १ लाख ११ हजार ८९८ हेक्टरमा रोपाईं सकिएको कृषि विकास निर्देशनालय हेटौंडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिए ।

बागमती प्रदेशको ‘अन्नको भण्डार’ को रुपमा चिनिने चितवनमा ९५ प्रतिशत रोपाईं सकिएको छ । उक्त जिल्लामा धानखेती हुने २२ हजार ९७७ हेक्टर क्षेत्रफलमध्ये २१ हजार ८२८ हेक्टर क्षेत्रफलमा रोपाईं सकिएको सकिएको हो । मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ९ हजार ३५० हेक्टर (८५ प्रतिशत) रोपाईं सकिएको सरकारी आँकडा छ ।

नुवाकोटमा १४ हजार २८३ हेक्टर क्षेत्रफलमध्ये १२ हजार ८५५ हेक्टर क्षेत्रफल –९० प्रतिशत) मा रोपाईं सकिँदा रसुवामा १ हजार ८७२ हेक्टर क्षेत्रफलमध्ये १ हजार ७६० हेक्टर क्षेत्रफल (९४ प्रतिशत) मा रोपाईं सकिएको छ ।

त्यसैगरी ललितपुरको ४ हजार १७५ हेक्टर, भक्तपुरको ३ हजार ९२५ हेक्टर र काठमाडौँको ५ हजार ९५९ हेक्टरमा धानखेती हुने गर्दछ । ३ यी ३ वटै जिल्लाहरुमा रोपाईं सकिएको निर्देशनालयका सूचना अधिकारी चौलागाईंले बताए ।

काभ्रेपलाञ्चोकमा ९ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ८ हजार ७४७ (९३.२ प्रतिशत) मा रोपाईं सकिँदा सिन्धुपाल्चोकका ८ हजार ५९० हेक्टर क्षेत्रफलमध्ये ८ हजार १६१ हेक्टर (९५ प्रतिशत) मा रोपाईं सकिएको हो ।

रामेछापमा ८ हजार ८९३ हेक्टर क्षेत्रफलमध्ये ७ हजार ५५९ हेक्टर (८५ प्रतिशत) मा धान रोपेर सकिएको छ । दोलखामा २ हजार ९ सय २८ हेक्टर क्षेत्रफलमध्ये २ हजार ६३५ हेक्टर (९० प्रतिशत) मा हालसम्म रोपाईं सकिँदा सिन्धुलीमा १५ हजार ४२३ हेक्टर क्षेत्रफलमध्ये १४ हजार ३४३ हेक्टर (९३ प्रतिशत ) मा रोपाईं सकिएको हो । प्रदेशको धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमध्ये १० हजार ६०१ हेक्टर (९५ प्रतिशत) मा रोपाईं सकिएको छ ।