एमाले बागमतीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने भएको छ । सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
उक्त निर्णयानुसार प्रदेशभित्रका जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलन तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी ब्यक्तिहरुको खोजी तथा पहिचान गरी सम्मान गरिनेछ ।
बैठकले आगामी भाद्र १० गते काठमाडौंमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजिवीका कुरा सुन्ने निर्णय गरेको पाण्डेले बताए । बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्तौलाले जारी गरेको विज्ञप्तिमा प्रदेश लेखा समिति गठन गर्ने निर्णय पनि भएको उल्लेख छ ।
बैठकले विधान बमोजिम प्रदेशका विभागहरूलाई पूर्णता दिएको छ । त्यस्तै बैठकले प्रदेश सल्लाहकार परिषद निर्माणको लागि तीन दिन भित्र प्रदेश अन्तर्गतका सबै जिल्लाहरुलाइ सल्लाहकार परिषदमा समेट्नु पर्ने नेताहरूको नामावली दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, बैठकले प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गरेका १० जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरूमा श्रीधर पोखरेल, सुमित्रा राजबंशी, अच्युत श्रेष्ठ, खेम भट्ट, गोपालजी गुप्ता, मनरत्न शाक्य, सीता ढकाल, भुवन केसी, देवेन्द्र खत्री र सुरेश राना रहेका छन ।
