मनहरीका बिरामीलाई निःशुल्क रगत

तु खबर संवाददाता
२०७९ श्रावण २३, सोमबार ०९:०८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले बिरामीलाई उपचारका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । पालिकाले पालिकाभित्रका बिरामी निःशुल्क रकम उपलब्ध गराउने भएको हो । आइतबार एक कार्यक्रमकाबीच मनहरी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको हो ।

मान्यता प्राप्त अस्पतालमा उपचार गराउने मनहरीका बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यक रगत रेडक्रसको ब्लड बैंकले उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जनाएको छ । आवश्यक रगतको पैसा तिर्न बाध्य बिरामीको सहजताको लागि रेडक्रससंग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताए ।

सम्झौतामा मनहरी गाउँपालिकाको तर्फबाट अध्यक्ष कालाखेतीले र रेडक्रसको तर्फबाट मन्त्री खेमराज सापकोटाले हस्ताक्षर गरेका छन् । यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि रेडक्रससंग उपमहानगर क्षेत्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको थियो ।