गरगहना र नगद लुटपाट गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । बालाजु सडकमा हिडिरहेकी एक महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–३ घर भई हाल टोखा–३ बस्दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका–३ बस्ने १९ वर्षीय अमिर महर्जन रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले गत साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले खुकुरी १ थान, मोबाइल २ थान, लागूऔषध गाँजाको धुलो ५५१ ग्राम, बा ६३ प ९४६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाहीको लागि प्रहरी वृत बालाजु पठाइएको जनाइएको छ ।
