कुकुर मारेको आरोपमा महिला पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १९, बिहीबार १८:०५
सांकेतिक तस्बिर

काठमाडौं । हँसियाले हानेर कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ४ की एक महिला रहेका छन् । आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै मिलिजुली टोलकी जुना बरालले बुधबार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मारेकी थिइन् ।

उनले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो हेरेर पशु अधिकारकर्मी इरफान खान सहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएको थियो । उजुरीपछि बालाजु प्रहरीले महिलालाई पक्राउ गरी हिरासतमा राखेको जनाइएको छ ।

ताकेश्वर ४ का वडाध्यक्ष नरेन्द्र दास श्रेष्ठका अनुसार, उक्त वडाको पुरानो गुहेश्वरी, मिलिजुली टोलमा कुकुरको आतंकले स्थानीयबासिन्दा हैरान छन् । त्यो मरेको कुकुरले १० जना जतिलाई टोकिसकेको थियो ।

हिराशतमा रहेकी महिलालाई कुकुर मार्न नहुने कानुनी व्यवस्थाबारे थाहा नभएको भन्दै मिलाउन खोज्दा स्थानीयबासिन्दा र पशु अधिकारकर्मीबीच विवाद समेत भएको यनको भनाई छ । प्रहरीले भने उक्त विषयमा आवश्यक छलफल भइरहेको जनाएको छ ।