स्रोत नखुलेको ५० लाखसहित एक जना पक्राउ
काठमाडौं । कपनको भृकुटी चोकबाट प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा बुधवार राती एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौं तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेन रहेका छन् । उनलाई सादा पोशाकमा खटिएको महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्वरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठामा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका घ्याल्चेन नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले उताबाट पैसा पठाउने गरेको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन । प्रहरीले घ्याल्चेनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
