काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव फेला

तु खबर संवाददाता
२०७९ श्रावण १६, सोमबार १५:३३
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा सोमबार एकै परिवारका चार जनाको शव फेला परेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्वर ६ अश्राङ घर भई तारकेश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका पाण्डे मृत भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, मृतक सुनीता र छोराछोरीको शव एउटा कोठामा र दिनेशको शव अर्को कोठामा फेला परेको हो ।

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनका अनुसार, त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।

मृतक सुनिता बेलायत जाने तयारीमा थिइन् । ६ महिनाको सिजनल भिसा लगिसकेको उनी दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् । त्यसका लागि उनले आइतबार मात्र माछापोखरीस्थित मेगाड्रिम सहकारीमा रहेको आफ्नो खाताबाट रकम झिकेर खाता बन्द गराएकी थिइन् ।

देश र उनकी श्रीमती सुनिताबीच पारिवारिक झगडा भएको कारण दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको भएपनि पुष्टि भएको छैन । घटनास्थलमा ४ पान्नको सुसाइड नोट समेत भेटिएको छ ।   उक्त सुसाई नोटमा के लेखिएको छ, भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।