बझाङमा ११ जना जुवाडे पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १२, बिहीबार ०९:३२
सांकेतिक तस्बिर

धनगढी । बझाङबाट प्रहरीले ९१ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, स्थानीय विष्णु मण्डेलको घरमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका–९ देवलका दिपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का विरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र घरधनी विष्णु मण्डेल रहेका छन् ।

उनीहरुमध्ये अधिकांश सरकारी सेवाबाट अवकास पाएका कर्मचारी रहेका छन् भने केही व्यापारी र स्थानीय किसानहरु रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।