हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय सामसाद देवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ नाईट्रोभेट १ सय ५० ट्याब्लेट, अल्कोन ८० क्याप्सुल, कोडिवेल ३० बोतल लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।
प्रहरीका अनुसार, हेटौंडा–४ कमलडाँडास्थित सडकखण्डमा फरेष्टीबाट पिप्ले तर्फ जाँदै गरेको प्रदेश २–०३–०२१ प ५४०६ नम्वरको मोटरसाइकललाई सुरक्षा जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
