एकैदिन थपिए १७७ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा थप १७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १२६ जनाको नुमना परीक्षण गर्दा १७७ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । जसमध्ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् । यस्तै, एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
