एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु
काठमाडौँ । बागमती प्रदेश सरकार परिवर्तनको विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको पनि उपस्थिति रहेको छ ।
बागमतीमा सत्तारुढ दलहरुबीच नै प्रदेश सरकार परिवर्तनको कसरत भइरहेको छ । एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ । राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री रहेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पूर्व सहमति अनुसार अब इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै प्रस्ताव गरेका छन् ।
पाण्डेलाई पदबाट हटाउन सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यहरूले हस्ताक्षर संकलनसमेत गरेका छन् । बागमतीमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले ६/६ महिना सत्ताको नेतृत्व गर्ने गठबन्धन दलहरुबीच सहमति भएको थियो ।
एकीकृत समाजवादी कांग्रेसको नेतृत्वमा बागमतीमा सरकार बनाउने विषयमा सकारात्मक देखिएको स्रोतले बताएको छ । संसदीय दलको बैठकले सो विषयमा औपचारिक निर्णय गर्ने बुझिएको छ ।
