८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु

एजेन्सी
२०७९ असार १५, बुधबार १०:३५
file photo

काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक ८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक एक जनाको मृत्यु भएको छ । गोली लागेर एक वर्षीय बच्चाको मृत्यु भएको हो । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ ।

उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई पक्राउ गरिएको छ । उनीमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताए ।

प्रहरीका अनुसार, उक्त वियोगान्त घटना एउटा होटलमा भएको थियो । आपराधिक रेकर्ड भएका रोडिकले होटलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन् । रान्डल आफ्नो हतियार कोठामा छोडेर बाहिर गएका थिए । उनी बाहिर गए पछि छोराले त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेका थिए । बालकले खोलबाट बन्दुक तानेर खेल्ने क्रममा गोली चल्दा एक जनाको मृत्यु र सानो बहिनी घाइते भएकी छिन् ।