साथीसँग मिलेर दाईको हत्या, दुई जना पक्राउ
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी २४ वर्षीय अमरेन्द्र ठाकुरको घाँटी रेटेर हत्या गरेकोमा आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले मृतककै सहोदर भाई अमरकान्त ठाकुर र सोही ठाउँका रुपेशकुमार चौधरीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, अमरेन्द्र यही असार ७ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।
अमरकान्तले रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको भनि प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक अमरेन्द्र र भाइ अमरकान्तबीच पहिलेदेखि नै विवाद भइरहने गरेको र असार ६ गते बेलुका पनि उनीहरु दुईबीच तरकारी ल्याउने विषयमा सामान्य विवाद भएपछि भाइ अमरकान्तले गाउँकै साथी रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेका खुलेको हो ।
उनीहरुले अमरेन्द्रलाई असार ६ गते राति करिब ८ बजे खानपिनको व्यवस्था छ, भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेर र शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरीको प्रमरम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका उनीहरु दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।
