बागमती प्रदेशसभाः विनियोजन विधेयक २०७९ स्वीकृत

तु खबर संवाददाता
२०७९ असार १३, सोमबार १४:१५

मकवानपुर । सोमबार बसेको बागमती प्रदेशसभाको बैठकले विनियोजन विधेयक २०७९ लाई सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएका थिए ।
अर्थमन्त्री जम्कट्टेलले सदनमा पेश गरेको सो प्रस्तावको विपक्षमा सांसद्हरु नदेखिएपछि सभामुख श्रेष्ठले उक्त विधेयक सर्वसम्मत रुपमा स्वीकृत भएको घोषणा गरे ।
आजको बैठकमा अर्थमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि विपक्षी दलहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । उनले बजेट निर्माणको क्रममा केही कमिकमजोरी भएकोले त्यसलाई सँच्याएर अघि बढ्ने प्रतिवद्धता जनाए । बैठकमा नेकपा एमालेका दीपक निरौला र साझा विवेकशीलका रमेश पौड्यालले आ–आफ्नो धारणा राखेका थिए ।