बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

तु खबर संवाददाता
२०८० चैत्र १९,सोमबार १८:३३
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

गत फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत प्राप्त गरेका हुन् ।

अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् ।

आज बसेको प्रदेश सभामा आफ्नो पक्षमा मतदान गर्न मुख्यमन्त्री जम्कट्टेलले प्रस्तुत गरेको प्रस्तावको पक्षमा ५६ मत परेको थियो ।

यस्तै, विपक्षमा ३७ मत र १५ जनाले मत गरेनन् । ११० जना सदस्य रहेको बागमती प्रदेश सभाको आजको बैठकमा १०८ जना सांसदले सहभागीता जनाएका थिए ।

यससँगै मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वास मत प्राप्त गरेका छन् । यसअघि २०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले पुस २६ गते पहिलो पटक विश्वासको मत पाएका थिए ।

यस्तै, २०७९ साल चैत्र १० गते दोस्रो पटक विश्वास मत प्राप्त गरेका उनले आज तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले विश्वासको मत प्राप्त गरेकोमा मुख्यमन्त्री जम्कट्टेललाई बधाई तथा आगामी कार्यकालको शुभकामना दिँदै प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको घोषणा गरे ।