लागूऔषधसहित ६ जना प्रहरीको फन्दामा
काठमाडौं । कञ्चनपुर, मोरङ र कैलाली गरी तीन छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट लागूऔषध चरेश ४८ ग्राम ४५ मिलिग्राम र नगद १० हजार रुपैयाँसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाई रहेका छन् ।
यस्तै, मोरङको बुढीगंगा गाउँपालिका–६ घेराबनीबाट करिब ८ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दर हरैँचा नगरपालिका–३ बस्ने ४५ वर्षीय नेत्र भट्टराई रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट प्रहरीले ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई पनि प्रहरीले शनिबार नै पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
