थाहा नगरपालिकाः अक्सिजन प्लान्ट र नगर अस्पताल निर्माण गरिने, जेष्ठ नागरिकलाई घरमै औषधि पुर्याइने
मकवानपुर । जिल्लाको थाहा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । मेयर विष्णु विष्ट आदर्शको सभाध्यक्षतामा भएको एघारौँ नगरसभामा उप–मेयर भरत गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
थाहाले हरेक नागरिकको स्वास्थ्य अवस्थाको तथ्याङ्क राखी नगरको खास स्वास्थ्य अवस्था पहिचान गरेर रोग लाग्न नदिन र रोग लागेको अवस्थामा राम्रो उपचार प्रवन्ध मिलाउन स्वास्थ्य बीमा मार्फत् नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार सेवा प्रवाह गरिने जनाएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० मा थाहा नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण सम्पन्न गरिने, आक्सिजनकै भरमा दैनिक जीवनयापन गरिरहेका दीर्घरोगीहरुलाई अक्सिजन खरिदमा छुट दिई सहज व्यवस्था गरिने, गरिब, असहाय नागरिकको स्वास्थ्य उपचारको निम्ति आवश्यक प्रवन्ध मिलाइने भएको छ ।
१५ शैंयाको नगर अस्पताल सञ्चालनमा ल्याई सामान्य सबै प्रकारको उपचार नगरमै हुने व्यवस्था मिलाइने, हरेक वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिने, दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई आवश्यक पर्ने नियमित स्वास्थ्य सेवा र सरकारले दिने निशुल्क औषधी सम्भव भएसम्म घरदैलोमै पुर्याउने प्रवन्ध गरिने जनाइएको छ ।
वडा तहमा रहने सहरी स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसुति सेवा प्रदान गरिने, नगरमा प्राकृतिक चिकित्सालय स्थापना तथा सञ्चालन गर्न पहल गरिने, नगरको स्वच्छ हावापानीलाई स्वास्थ्य उपचार र लामो समय आराम आवश्यक पर्ने मानिसलाई आकर्षित गर्न आवश्यक पहल गरिने र नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा सुविधा सम्पन्न बर्थिङ सेन्टर स्थापना गरी संचालन गरिने जनाइएको छ । नगरलाई शुन्य घर सुत्केरी नगर घोषणा गरिनेछ । गरिब असहाय विरामीलाई आर्थिक सहयोगको व्यवस्था गरिने जनाइएको छ ।
