थप २८ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ असार ६, सोमबार १७:५६
file-photo

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ९१४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८६२ जनाको पीसीआर परीक्षणमा २० जना र २ हजार ५२ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या शून्य रहेको छ । हाल देशभर १२० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११७ जना होम आइसोलेसनमा रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७६७ पुगेको छ । तीमध्ये हालसम्म मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३१० जना संक्रमणमुक्त भएका छन् ।