हेटौंडा उपमहानगरपालिकाले चार्जिङ स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने

तु खबर संवाददाता
२०७९ असार ५, आईतवार ०९:०४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१५ मा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणको लागि जग्गा उपलब्ध गराउने भएको छ । उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले पूर्वपश्चिम राजमार्ग भएर गुड्ने विद्युतीय सवारीलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, वडा कार्यालय, स्थानी, सामुदायिक वन उपभोक्ता समूहले जमिन दिनका लागि समस्या नभएको निर्णयपश्चात् उपमहानगरको कार्यपालिका बैठकले स्टेशन निर्माणको लागि करिब ५ कठ्ठा जमिन दिने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले हेटौंडा–१२ पुर्ननवा आयुर्वेदिक अस्पताललाई पनि जग्गा दिने निर्णय गरेको छ । बैठकले उपमहानगरको विकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर बृद्धीमा लागेका शिक्षकलाई भत्ता दिने निर्णय गरेको छ । उक्त बैठक हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको हो ।