हेटौंडाका गोलेसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा १६ किलोसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्तीपुरबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा–१९ बस्ने ४० वर्षीय किताब सिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने ३२ वर्षीय बिक्रम कुमार गोले र ३४ वर्षीय कुमार घ्यावा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । मंगलबार मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १६५६ नम्वरको यात्रुबाहक माईक्रो बसलाई उक्त स्थान रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी निरीक्षक घिमिरेले बताए ।
