एमालेको अनुशासन आयोगले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । आयोगको मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।
पार्टी भित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको अनुशासन आयोगका अध्यक्ष केशव बडालले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि विषयवस्तु हुने पनि आयोगले जनाएको छ ।
