पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात संचालन
मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात संचालनमा आएको छ । सोमबार राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध सडकखण्ड आज बिहानैबाट संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएके छ ।
प्रहरीका अनुसार, अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको हो । यस्तै, भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी सडकखण्ड दुईतर्फी संचालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार रातिबाट दुईतर्फी संचालनमा आएको हो ।
गत शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन हुँदै आएको थियो । शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ । साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
