आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन संचालनमा रोक
तनहुँ । तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा केही दिन ठूला सवारीसाधन संचालनमा रोक लगाइएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन संचालनमा रोक लगाइएको हो ।
उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा संचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको छ ।
सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ । शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात संचालन पूर्णरुपमा बन्द गरेको छ ।
सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौंडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
