पहिरोले अवरुद्ध सडकमा यातायात संचालन गर्न भित्तो खार्न थालियो
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिकै आज बिहान सडक भारिएर अवरुद्ध भएको बाटोमा यातायात संचालन गर्न भित्तो खार्न थालेको छ । वर्षाका कारण आधा सडक नदीमा खसेपछि आजै बिहानैदेखि अवरुद्ध बाटोमा यातायात संचालन गर्न भित्तो थार्न थालेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, भित्तो खारेर साना गाडीसम्म संचालन गराउन पहल भइरहेको छ । सडक अवरुद्ध हुँदा आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षित रूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ । सडक भासिएको ठाउँमा एउटा कार र मोटरसाइकल समेत पुरिएको छ ।
कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल खसे पनि चालक भने सकुशल भेटिएका थिए ।
