पब्जी खेल्न नदिएको रिसमा गोली हानेर आमाको हत्या

एजेन्सी
२०७९ जेष्ठ २६, बिहीबार ०९:१८
file photo

काठमाडौं । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको रिसमा आफ्नै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार, गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरेका हुन् ।

भारतीय समाचार अनुसार, १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर, आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही रिसमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए । उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बंगालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे ।

प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाशसहित पेस्तोल बरामद भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । हत्यापछि उनले दुई दिनसम्म आमाको शव घरकै कोठामा बन्द गरेर राखेका थिए । आमाको हत्या गर्दा उनकी बहिनी पनि सँगै थिइन् । तर उनले बहिनीलाई यो कुरा कसैलाई नभन्न धम्क्याउने गरेको र गन्ध हटाउन रुम फ्रेसनर स्प्रे प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

मंगलबार भने ती किशोर आफैंले घटनाबारे आफ्नो बुवालाई जानकारी गराएको समाचारमा उल्लेख छ । उनका बुवाले छिमेकीलाई भनेपछि प्रहरीसम्म सूचना पुगेको थियो ।

भारतमा यो खेलको मोबाइल एप्स प्रतिबन्धित भए पनि डेस्कटप भर्जन उपलब्ध थियो । साथै यो खेल खेल्नेहरुले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्ने गरेको पाइएको छ ।