पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र
मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ । पहिरो हटाएर यातायात संचालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिनाई भइरहेको छ ।
यस्तै, पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
