एक सातादेखि बेपत्ता भएका बालक मृत अवस्थामा फेला
धनुषा । एक सातादेखि बेपत्ता भएका सर्लाहीका एक बालक मृत अवस्थामा फेला परेका छन् । गत जेठ १७ गतेदेखि बेपत्ता भएका सर्लाही जिल्लाको कबिलासी नगरपालिका वडा नम्बर ७ स्थित गैरबजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ८ मा टेन्ट तानेर बस्ने ६ वर्षीय बालक राँकी बरही मृत अवस्थामा फेला परेका हुन् ।
ती बालक धनुषा–महोत्तरीको सिमावर्ती क्षेत्र धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर २२ स्थित बसबिट्टी र महोत्तरीको पिपरा गाउँपालिका वडा नम्वर ६ स्थित रतौलीको सिमानामा पर्ने दुधमती नदीको छेउमा जमेको पानी भएको झाडीमा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बालकको शव सडेको अवस्थामा फेला परेको हो । हराएकै दिन कसैले उनको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको आशंका रहेको छ । बालकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
