विद्यार्थीहरुलाई वातावरणीय रुपमा जिम्मेवार बनाउँदै हेटौंडाको तुलसीमेहर

तु खबर संवाददाता
२०७९ जेष्ठ २३, सोमबार १७:१९

मकवानपुर । हेटौंडाको तुलसीमेहर मोमोरियल माध्यमिक विद्यालयले ५० औं वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले मन्टेश्वरी तहदेखि कलेज तहसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

विश्व वातावरण दिवसलाई आफ्नो विचारहरु राखी लिखित रुपमा उद्गार प्रकट गर्नका लागि प्रिस्कुल तहका नानीबाबुहरुलाई हरियो बोट विरुवा बनाएर चित्रात्मक कला प्रस्तुत, प्रावि र निमावि तहका विद्यार्थीलाई वन विज्ञान अध्ययन संस्थानको बगैँचामा लगेर खुल्ला वातावरण सम्बन्धि चित्रकला प्रस्तुत गरिएको थियो ।

यस्तै, मावि तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई हेटौंडाको सिँचाइ टोलदेखि मनाकामना मन्दिरसम्मका अजैविक फोहर संकलन गर्न लगाई मनाकामना मन्दिर वरपर पनि सरसफाई गर्न लगाइएको थियो ।

विद्यार्थीको अर्को समूहले भुटनदेवी मन्दिर प्राङ्गणमा समेत सरसफाई गरेका थिए । यस्ता किसिमका कार्यक्रमलाई सिर्जनात्मक तबरबाट अगाडि बढाउनका निमित्त विविध कार्यक्रम आयोजना गरी सम्पूर्ण तह र तप्काका विद्यार्थीहरु समावेश गरी कार्यक्रम गरिनुले विद्यार्थीहरुको तीव्र सिर्जनशीलतामा सुधार पाइएको विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले बताए ।

विश्व वातावरण दिवसमा विद्यार्थीहरुलाई वातावरण संरक्षण र सम्वद्र्धनमा जोड दिन तथा जिम्मेवार बनाउनका लागि आयोजना गरिएको तुलसीमेहर विद्यालय तथा नारायणी कलेजका कार्यक्रम निर्देशक किशन बास्तोलाले बताए ।

प्लास्टिकजन्य वस्तुले वातावरणीय दुष्परिणामलाई निम्त्याउने भएकाले सिँचाइ टोलदेखि मनकामना मन्दिरसम्मका बाटोमा रहेका प्लास्टिकजन्य वस्तु टिपेर वातावरण संरक्षणप्रतिको विद्यार्थीको दायित्व पूरा गरेका तथा विद्यार्थीहरुलाई प्रकृतिसँगको रमण गराइएको कुरा नारायणी कलेजका शैक्षणिक निर्देशक मनोज कुमार यादवले जानकारी दिए ।

हेर्नुहोस् फोटो ।