नारायणी कलेजद्वारा शिक्षण कार्य प्रभावकारी बनाउन आधुनिक टेक्नोलोजीको प्रयोग

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार ०८:२५

मकवानपुर । हेटौंडाको तुल्सीमेहर मेमोरियल स्कुल तथा नारायणी कलेजले आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै शिक्षण कार्य संचालन गर्ने जनाएको छ ।

शैक्षिक जगतमा नयाँ आयाम ल्याउन परम्परागत शिक्षण प्रणालीलाई केही रुपान्तरण गर्दै आधुनिक टेक्नालोजीको प्रयोग गरी विद्यार्थीको सिकाईमा जोड दिइने गरी शिक्षण कार्य संचालन गर्न लागिएको संचालक मध्येका एक किशन बास्तोलाले जानकारी दिए ।

उनले डिजिटल क्लास संचालनका लागि डक क्यामेरा तथा प्रोजेक्टरको प्रयोग गरिने, मन्टेश्वरी (प्रि–स्कुल) देखि कलेजसम्म विषयगत कक्षाकोठाको व्यवस्थापन मिलाइएको र विद्यालयमा आधुनिक एवम् सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिने बताए ।

विद्यार्थीहरुका लागि सबैखाले ज्ञानको विकास गराउन उनीहरुले प्रयोग गर्न मिल्ने पौडी पोखरी, सानो चिडियाखाना तथा संग्राहलय, र बगैँचा स्थापना गरिसकिएको र खेलकुद, संगीत र नृत्यलगायतका अन्य क्रियाकलाप संचालन गरिने उनले बताए ।

‘हामीले विद्यार्थीको सिकाईमा जोड दिने गरी विभिन्न तयारी गरेका छौँ, त्यसका लागि कक्षाकोठा भन्दा बाहिर पनि शिक्षण क्रियाकलाप संचालन गर्दैछौँ । हाम्रो जोड भनेको जीवनउपयोगी र खोजमुलक शिक्षाको विकास गराउनु हो ।’ उनले भने ।

उनले विद्यार्थीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्रमण गराउने समेत उल्लेख गरे ।

नारायणी कलेज त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परिक्षा बोर्डसंग सम्बद्ध छ ।

यसले विगतका बर्षहरुमा त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परिक्षा बोर्ड अन्तरगत संचालन हुने परिक्षामा उत्कृष्ट नजिता हात पार्दै आएको छ ।