बागमती प्रदेशः युवा नीतिको मस्यौदामाथि छलफल, रोजगारी र उत्पादनमा जोड्न सुझाव

तु खबर संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १६:२२

मकवानपुर । पछिल्लो समय युवा स्वरोजगार र उत्पादनको मुद्धामा बहस भइरहेको छ । यो मुद्धा पेचिलो बन्दै जानुको साथै युवा जमातमा नै आफ्नो क्षमता कसरी अभिबृद्धि गर्ने, कसरी रोजगारी र उत्पादनसँग जोडिने भन्ने चासो/चिन्ता पनि पनि देखिएको छ ।

युवाहरुमा विषयगत सीप र क्षमताको विकास कसरी गर्ने, उनीहरुलाई रोजगारीसँग कसरी जोड्ने, त्यसले उत्पादनमा कसरी प्रभाव पार्न सक्छ भन्नेमा सरोकारवालाहरु पनि गम्भिर देखिएका छन् । आम नागरिकहरुले पनि यस विषयमा आवश्यक नीति निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

आइतबार प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा हेटौंडामा भएको कार्यक्रममा यीनै विषयमाथि केन्द्रीत भई सहभागिहरुले जिज्ञासा र सुझावहरु व्यक्त गरे । कार्यक्रममा सहभागी, पत्रकार, साहित्यकार, कानून व्यवसायी, शिक्षा क्षेत्रमा आवद्ध व्यक्तिहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु र युवा प्रतिनिधिहरुले बागमती प्रदेश सरकारले युवालक्षित नीति ल्याउनुपर्ने सुझाव दिए । उनीहरुले युवा नीतिको मस्यौदामाथि छलफलका क्रममा प्रदेशभित्र रहेका युवाहरुहरुको क्षमता विकास गर्दै रोजगारी र उत्पादनमा जोड्ने नीति आवश्यक रहेको भन्दै बताए ।

सहभागिहरुको जिज्ञासा र सुझावपछि प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले मस्यौदामा छलफल सुरु भएको बताउँदै सबैको सुझाव समेटेर नीति निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । नयाँ आर्थिक वर्षको बजेटमा पनि युवाहरुलाई सीपसँग जोड्दै उत्पादन र रोजगारीमा जोड्ने कुरालाई प्राथमिकता दिइएको उनले बताए । कार्यक्रममा प्रदेश युवा नीतिको मस्यौदा निर्माणकर्ता प्रकाश बिकल्पले नीतिको उदेश्य, लक्ष्य र त्यसभित्र समेटिएको विषयबारे प्रकाश पारेका थिए ।

पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले शब्दको चाङ भन्दा पनि नीतिमा बुँदागत कुराहरु समेटेर अघि बढ्न सुझाव दिए । कार्यक्रममा राष्ट्रिय युवा परिषदका निवर्तमान उपाध्यक्ष माधव ढुङ्गेल, प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने लगायत सरोकारवाला क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्राप्त सुझावहरुको आधारमा नीति थप परिमार्जन गर्दै पारित गरिने प्रदेश युवा परिषद बागमतीका उपाध्यक्ष सन्तोष चौँलागाईले बताए । उनले युवालाई रोजगारी र उत्पादनसँग जोड्न सकेमा युवा विचलनमा सुधार ल्याउन सकिने, देशको अर्थतन्त्र बलियो बन्दै जाने, समाजमा हुने अपराधिक गतिविधि न्यूनिकरण हुँदै जाने, विभिन्न कुलत तथा लागूऔषध दूव्र्यशनीका घटना न्यूनिकरण हुनेसमेत विश्वास व्यक्त गरे ।