साथीले बोकेको बन्दुक पड्किंदा पुनको मृत्यु
दाङ । दाङमा बन्दुक पड्किंदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा आफ्नै साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–१ निवासी भागबहादुर पुन रहेका छन् ।
प्रहरीका अनुसार, पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंदा उनको घाटीमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । उनको शव लमही अस्पतालमा राखिएको छ । प्रहरीले मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
